क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए।

२२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। क्यानडाका लागि निकोलश किर्टोन र पर्गत सिंहले अर्धशतक प्रहार गरेर नेपाललाई दबाबमा राखेको थियो। निकोलश ६८ र पर्गत ५० रनमा पेभेलियन फर्किएका थिए। त्यस्तै हर्स थाकेरले ३२ र आरुन जोह्नसनले २० रन बनाए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा अलआउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।

त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले अविजित १० रन बनाए।
नेपालले क्यानडासँग एक दिवसीय तीन खेल खेल्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *