नेपालबाट निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ

गृह मन्त्रालयले सन् २०२३ मा २०९ जना चिनियाँ नागरिकसहित ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले लागुपदार्थ दुर्व्यसनी, जाली राहदानी, विदेशी मुद्रा अपचलन, ओभर स्टेलगायत मुद्दामा ४५८ जनालाई निष्कासन (डिपोर्ट) गरेको हो।

निष्कासित हुने अधिकांश भिसाको म्याद गुज्रिएका (ओभर स्टे)हरू छन्। अध्यागमन विभागका अनुसार विभिन्न मुलुकका ४१२ जना विदेशीहरू ओभरस्टे भएर निष्कासित भएका हुन्। सबैभन्दा बढी ‘ओभर स्टे’ रहनेमा समेत चिनियाँ नागरिक अग्रस्थानमा छन्। सन २०२३ मा १ सय ९० जना चिनियाँ नागरिक ‘ओभर स्टे’ मुद्दामा नेपालबाट निकालिए।

गृह मन्त्रालयले सन २०२३ मा लागूऔषध मुद्दामा १० जना, जाली राहदानीमा ५ जना, विदेशी मुद्रा अपचलनमा १० जना, विभिन्न नक्कली काममा संलग्न ४ जना, व्यक्ति अपहरणमा १ जना, संगठित अपराधमा ६ जना, बहुविवाहमा १ जना, यौन अपराधमा ५ जना र शंकास्पद अर्का १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। किन यतिका धेरै संख्यामा चिनियाँ नागरिकहरू ओभर स्टे रहे भन्ने चाहिँ अनुसन्धानको विषय बनेको छ।

निष्कासित हुनेहरूमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्, जुन कूल संख्याको ४६ प्रतिशत हो। सन् २०२३ मा सबैभन्दा बढी २०९ जना चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको हो। जसमा १ सय ९० जना चिनियाँ नागरिक ओभर स्टे थिए। ८ जना चिनियाँ नागरिक विदेशी मुद्रा अपचलन, ४ जना लागूऔषध, ३ जना संगठित अपराध, २ जना आर्थिक बेइमानी र १/१ जना अपहरण र नक्कली काममा संलग्न चिनियाँहरू छन्। अघिल्लो वर्ष सन् २०२२ मा पनि १९१ जना चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको थियो।

सन् २०२३ मा गृह मन्त्रालयले ३७ जना अमेरिकी, बंगलादेशी र उज्वेकिस्तानका १९/१९ जना, १८ जना बेलायती, ११ जना श्रीलंकन, स्वीडेन र पाकिस्तानका १०-१० जनालाई निष्कासन गरेको छ।

त्यस्तै गृह मन्त्रालयले अफगानिस्तानका ९ जना, ८ जना जर्मनी, दक्षिण कोरिया र क्यानडाका ७/७ जनालाई निष्कासन गरेको छ। गृहले फ्रान्सका ६ जनालाई निष्कासन गरेको छ। इटली, नाइजेरिया, रसिया र यमनका ५/५ जनालाई पनि गृहले निष्कासन गरेको छ। अध्यागमन विभागका अनुसार अष्ट्रेलिया, इरान र जापानका ४-४ जनासमेत निष्कासित भएका छन्।

भुटान, क्याम्रुन, फिलिपिन्स, पोर्चुगल, थाइल्याण्डका ३/३ जना र बेल्जियम, डेनमार्क, हङकङ, इन्डोनेशिया, आयरल्याण्ड, नेदरल्याण्ड, रोमानिया, सुडान, युक्रेन र भियतनामका २/२ जनालाई गृह मन्त्रालयले निष्कासन गरेको हो। गृह मन्त्रालयले कम्बोडिया, कोमरोस, चेक रिपब्लिक, घाना, आइभरी कोस्ट, इजरायल, जोर्डन, काजकिस्तान, लेबनान, मलेसिया, मेक्सिको, मोलदोभा, मंगोलिया, म्यान्मार, नर्बे,साउदी अरेबिया, सिंगापुर, स्पेन, स्वीटजरल्याण्ड, ताजकिस्तान र युगाण्डाका १/१ जनालाई निष्कासन गरेको छ।

विदेशी नागरिकलाई अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले निष्कासनको निर्णय गर्छ। अध्यागमन कानुन विपरीत कार्य गर्ने तथा अन्य प्रचलित कानुनविपरीत कार्य गर्ने विदेशीलाई अदालतबाट सजाय भोगिसकेपछि अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले निष्कासन गर्छ। अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिकलाई अवधि तोकि वा नतोकी निष्कासन गर्न सकिने व्यवस्था छ।

अध्यागमन कार्यविधि २०६५ अनुसार कसूरको प्रकृति हेरी १० वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउनेगरी निष्कासन गर्ने व्यवस्थासमेत छ। विदेशी नागरिकहरू एक भिसा वर्षमा १५० दिनसम्म पर्यटक भिसामा नेपाल बस्न पाउँछन्। सो अवधिभन्दा बढी बसे उनीहरू ओभर स्टे हुन्छन्। त्यसरी ओभर स्टे भएका विदेशी नागरिकलाई गृह मन्त्रालयले निष्कासन गर्ने गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *