थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी पूरा, दुई जना स्रष्टा सम्मानित हुँदै

थारू साहित्य राष्ट्रिय सम्मेलनको ८औं संस्करण शुक्रबादेखि सुनसरीमा आयोजना हुँदैछ। हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका-२ स्थित गढीथानमा  माघ २६ र २७ गते सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरिबाट साहित्यप्रेमीहरू उपस्थित हुने आयोजकले जनाएको छ।

सम्मेलनमा थारु साहित्यकारबाहेक देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए‍। सम्मेलनको उद्‍घाटन एमाले नेतृ एवं सांसद भगवती चौधरीले गर्नेछिन्।

सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा थारु महिला सशक्तिकरणको अभियन्तालाई सम्मान गर्ने कार्यक्रम छ। सम्मेलनमा थारू भाषाको मानकता, थारू समुदायको इतिहास, धर्म र संस्कृति, थारु साहित्यमा अनुवाद कार्य, सुनसरी, मोरङको थारु साहित्यको अवस्था, थारु सामूहिक भवनको औचित्य, थारूकेन्द्रित विकासका लागि जनप्रतिनिधिको बहस लगायतबारे  विज्ञसँग प्यानल छलफल हुने जनाइएको छ।

यसैबीच थारू साहित्य राष्ट्रिय सम्मेलनमा दुई जना स्रष्टा सम्मानित हुने भएका छन्। लेखकद्वय रामसागर चौधरी र शान्ति चौधरी पुरस्कृत हुने आयोजकले जनाएको छ। रामसागरलाई थारु साहित्य पुरस्कार २०८० र शान्ति चौधरीलाई प्रतिभा महिला सशक्तीकरण पुरस्कार २०८० प्रदान गरिने थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए। पुरस्कारको राशि ३० हजार र १५ हजार रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *