पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

सांस्कृतिक पार्कमा पहिरन, पेसागत सामग्री, घर, रीतिरिवाज, पुराना संस्कार तथा संस्कृति झल्किने मूर्ति निर्माण गरी राखिने उनले बताए। पार्क निर्माणका लागि स्थान चयन तथा डिपिआरसमेत निर्माण भइसकेको छ। थारु सांस्कृतिक पार्क गाउँपालिका-२ को मनरी बनाउने भएको छ भने मधेसी सांस्कृतिक पार्क वडा नं ४ स्थित ललितपुरमा निर्माण गरिने अध्यक्ष चौधरीले बताए। यसबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ।

पार्क निर्माणका लागि गाउँपालिकाले संघ र प्रदेशबाट बजेट माग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताए। मनरीस्थित निर्माण हुने थारु सांस्कृतिक पार्कको डीपीआर तयार गरी तारबारसहितको काम अगाडि बढाइएको उनले बताए।

त्यस्तै मधेस सांस्कृतिक पार्कको प्रारम्भिक सर्भे गरी डीपीआर निमार्णको तयारी भइरहेको अधिकृत मिश्राले बताए। उक्त पार्कमा आन्तरिक तथा बाह्य पर्यटकसमेत ल्याउनका लागि अन्य विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिने छ। जसमा सेल्फीस्थल, उद्यान, पिकनिक पार्क, सभाहल, जल भण्डारण, पुस्तकालय र विभिन्न किसिमको प्राकृतिक सौन्दर्यतालाई समेत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *