नागरिक उन्मुक्तिले दाबी गरेअनुसार सत्ता गठबन्धनले किन दिएन सिट?

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट दाबी गर्दै आएको थियो। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले पटक-पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दबाबसमेत दिएका थिए।

प्रधानमन्त्रीको आश्वासन पाएपछि एक सिट पाउनेमा रेशम चौधरी ढुक्क थिए। त्यही भएर होला धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले एक सिट पाउन लागेको सार्वजनिक गरेका थिए। सत्ता गठबन्धनकै सहयात्री भएको भन्दै एक सिट हकले पाउने रेशमले बताउँदै आएका थिए। तर नागरिक उन्मुक्तिले मात्र होइन, सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले पनि कुनै भाग पाएनन्।

गत शनिबार राति बालुवाटारमा बसेको बैठकमा भाग नपाउने भएपछि राउत र ठाकुर बीचमै निस्किएका थिए। तीन सिट दाबी गरेको माधव नेपाल पनि बीचमै उठेर हिंडेका थिए। बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिताले भने एक सिट पाउनुपर्ने अडान लिए पनि सुनुवाई भएन। सोमबार सबै पार्टीले माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। भाग नपाएका जनमतले छुट्टै उम्मेदवार खडा गरेको छ। तर नागरिक उन्मुक्ति पार्टीले भने छुट्टै उम्मेदवार दर्ता गराएन। बरु यसअघि राष्ट्रियसभाको उपनिर्वाचनमा भने नागरिक उन्मुक्तिले गठबन्धविरुद्ध उम्मेदवारी दर्ता गराएको थियो।

यस विषयमा नागरिक उन्मुक्तिले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। नागरिक उन्मुक्ति पार्टी अहिले प्रथम महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीले पुस २६ देखि २८ गतेसम्म टीकापुरमा पहिलो महाधिवेशन आयोजना गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *