थरुहट प्रदेश माग्दै आन्दोलनमा होमिएकी गंगा भैरहवामा लगाइन् ‘राजावादी नारा’

नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेकी छन्। भैरहवामा आयोजित पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रममा उनी सक्रिय सहभागी भइन् र भाषण समेत गरिन्। कुनै बेला थरुहटको पक्षमा आन्दोलनमा होमिएकी गंगाले राजाको पक्षमा खुलेरै समर्थन गरेकी हुन्।

तत्कालीन समानुपातिक सांसद चौधरीलाई गत वर्ष मंसिरमा भएको प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी थिइन्। दाङ १ मा स्वतन्त्र उम्मेदवार बनेकी चौधरी झिनो मत ल्याएर पराजित भइन्। उक्त क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो। उनलाई हराएर नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका थिए।

चुनावमा बागी उम्मेदवार बनेका कारण एमालेले उनलाई पार्टीबाट निस्कशान गर्‍यो। त्यसपछि उनले आफ्नो राजनीतिक धार बदल्दै ‘राजावादी’ बनेकी छन्। पूर्वराजाको अभिनन्दन कार्यक्रममा भाषण गर्दै चौधरीले दलीय व्यवस्था फेल भएको र राजाको विकल्प नरहेको बताइन्।

उनले भनिन्, ‘राजाले अब नेतृत्व लिन डराउनु पर्दैन। जनता फिल्डमा आइसके।’ आफ्नो भाषण सिध्याउनु अगाडि उनले भिडसँग मिलेर ‘हाम्रो राजा हाम्रो देश प्रणभन्दा प्यारो छ’ देखि ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाइन्।

चौधरीले मुलुकमा दलहरूले केही गर्न नसकेकोले अब देशको नेतृत्व गर्न आग्रह गरिन्। उनले गरेको अनुरोधलाई ज्ञानेन्द्रले ताली बजाएर स्वागत गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *