भारतीय विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौं आउने भएका छन्।

‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने,’ परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन्।

भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन्। विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले भने जयशंकरले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र समकक्षी साउदसँग मात्रै बिहीबार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ।जयशंकर नेतृत्वको प्रतिनिधिमण्डलका लागि परराष्ट्रमन्त्री साउदले रात्रीभोज आयोजना गर्नेछन्। परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संग सामूहिक भेटघाट हुनेछ। उनी आयोगको बैठक सकेर शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *