अष्ट्रेलियाका थारूहरूले माघी महोत्सव मनाउने

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो।

यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए।

उनका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव अपरान्ह २ बजेबाट सुरू हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको चौधरीले जानकारी दिए।

कार्यक्रममा यसपटक थारू समुदायको परम्परागत लाठी नाच, झुमरा नाच प्रस्तुत गरिनेछ भने थारू परिकारको व्यवस्था गरिने आयोजकले जनाएको छ। पब्लिक अफिसर चौधरीका अनुसार कार्यक्रममा थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिनेछ।

प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पब्लिक अफिसर चौधरीको भनाइ छ। कार्यक्रममा सहभागी हुने थारूहरू मौलिक पहिरनमा उपस्थित हुनेछन् भने थारू परिकारको व्यवस्थासमेत गरिने उनले बताए।

थारू रीतिरिवाजअनुसार आयोजना हुने कार्यक्रममा सहभागी हुन उनले अष्ट्रेलियाका थारूलगायत नेपालीहरूलाई आह्वान गरिएको छ। विस्तृत जानकारीका लागि अरुण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *