प्रधानमन्त्री दाहालले रञ्जिता श्रेष्ठले गरेका यी कामलाई समेटे सरकारको प्रगति विवरणमा

प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको कार्यप्रगति विविरण (रिपोर्ट कार्ड) सार्वजनिक गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले ८८ पृष्ठको रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन्। यस अवधिमा सरकारले गरेका कामहरूबारे उनले रिपोर्ट कार्डमा समावेश गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी भूमि व्यवस्थापन तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले गरेको कामसमेत प्रधानमन्त्रीले समेटेका छन्। प्रधानमन्त्रीको नजरमा रञ्जिताले तल उल्लेखित पाँच बुँदे काम गरेकाछन्।

– भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको व्यवस्थापनको लागि थप ३१६ स्थानीय तहसँग कार्य सम्पादन सम्झौता भएको। ६ लाख ७६ हजार थप लगतसहित जम्मा ९ लाख ८१ हजार परिवारको लगत तथ्याङ्‍क अद्यावधिक गरिएको। यस अवधिमा थप २१ हजार हेक्टरसहित कुल ४१ हजार हेक्टर जग्गा वितरणका लागि नक्साङ्‍कन भएको।

– अव्यवस्थित बसोबासीहरूलाई भूमि आयोगबाट जग्गा उपलब्ध गराउँदा हालको शुल्कमा ५० प्रतिशत कम हुने गरी प्रक्रिया अगाडि बढाइएको। भूमि आयोगबाट जग्गा उपलब्ध गराउने सम्बन्धमा वन ऐन, २०७६ संशोधनको प्रक्रियामा अगाडि बढेको।

– थप ६ वटा नापी कार्यालयहरूबाट नेलिस र मेरो कित्ता प्रणाली प्रयोग गरी कुल ५६ कार्यालयहरूबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको। ४१ बैङ्‍क तथा ६ स्थानीय तहहरूलाई नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार सेवा प्राप्‍त गर्ने व्यवस्था मिलाइएको।

– सेवाग्राहीहरूले घरैबाट वा नजिकको भू-सेवा केन्द्रबाट जग्गासम्बन्धी कारोवार गर्नसक्ने गरी यस अवधिमा १५ केन्द्र थप गरी हालसम्म ९० वटा मालपोत कार्यालयमा भू-सेवा प्रणाली सञ्‍चालनमा ल्याइएको।

– राज्यबाट प्रदान गरिने सेवामा गरिबको पहुँच सुनिश्‍चित गर्न २३ जिल्लाका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिएको। थप २ लाख ७१ हजार ४ सय ६० घरपरिवारलाई सूचीमा समावेश गर्न प्रक्रिया अघि बढाइएको।




Leave a Reply

Your email address will not be published. Required fields are marked *