घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव

कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।

महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै यसलाई जोगाउन युवापुस्ताको जागरुकता रहेको बताए। उनले घोडाघोडी विश्व सिमसार क्षेत्र जैविक विविधताले मात्र महत्वपूर्ण नभइ धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको जनाउँदै यसको अस्तित्व जोगाउन सरोकारवाला सबैको दायित्व रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कृषीमन्त्री रामेश्वर चौधरी, उधोग, वन तथा पर्यटनमन्त्री रमेशसिंह धामी, प्रदेश सांसद खुशीराम चौधरी, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, विभिन्न पार्टीका नेता, थारु समुदायका ८२ गाउँका भल्भन्सा लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न गाउँबाट थारु सांस्कृतिक झल्काउने लाठी, झुम्रा, सखिया नाच तथा झाँकी प्रदर्शन गरिएको थियो। उपस्थित अतिथिलाई विभिन्न गाउँबाट बनाएर ल्याएका थारु खानेकुरा ढिक्री, माछा, घोँगी, वयरको चटनी, जाँर लगायतका खानेकुरा खुवाइएको थियो।

सीता विबाह पञ्चमी तीथिमा हुने लवाङ्गी पूजाको अवसर पारेर केही बर्षदेखि थारु सांस्कृतिक महोत्सवको आयोजना हुँदैआएको छ। ‘भाषा, धर्म, कला, संस्कृतिके करी सम्मान, घोराघोरी मन्दिर थारुन्के देउथानके चिन्हैना हमार अभियान’ भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव तीन दिनसम्म चल्ने जनाइएको छ।

घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने सो पूजा कार्यक्रममा ८२ गाउँका थारु समुदायको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा महोत्सव उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दैआएको बताइन्छ। परापूर्वकालदेखि थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको भनाइ छ।

पहिले सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रुपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भब्यरुपमा सम्पन्न गरिदैआएको छ।

भोलि ३० गते राति थारु गुरुबाहरु धाक (धामी) बस्ने र पौष १ गते बिहानदेखि पूजा कार्यक्रम सुरु हुने जनाइएको छ । घोडाघोडीलाई भाकल गरेकाले लवाङ्गी पूजाकै दिन बोका, कुखुरा, हाँस, बंगुरलगायत पशुको बली दिने चलन रहेको जनाइएको छ । घोडाघोडी लवाङ्गी पूजामा कैलाली, कञ्चनपुर, दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजन आउने बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *