इजरायलमा ज्यान गुमाएका आशिष चौधरीको घर पुगे राजदूत गोदार, इजरायली नागरिकसरह भरण पोषण दिने घोषणा

नेपालका लागि इजरायली राजदूत खनान गोदर हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीको जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए। त्यसमध्ये आशिष एक हुन्।

स्कुल अफ एग्रिकल्चरद्वारा मंगलबार आयोजित शोकसभामा पुगेका राजदूत गोदरले मृतकका परिवारका सबै सदस्यसँग भेट गर्न घरमै पुगेको बताए। ‘मैले इजरायल जानुअघि ती प्रत्येक विद्यार्थीसँग तिमी को हो? तिम्रो भावी योजना के हो? किन जान चाहन्छौं? भनेर सोधेको थिएँ,’ राजदूत गोदरले भने, ‘उनीहरू केही नयाँ प्रविधि सिकेर नेपाल फर्किने योजनाका साथ गएका थिए। दुर्भाग्य उनीहरू आतंककारी हमासको आक्रमणमा परेको घटनाले हामी निकै दुःखित छौं।’

मृतकको परिवारका सदस्यलाई सान्त्वना दिँदै राजदूत गोदरले पाहुनाका रूपमा इजरायल गएर ज्यान गुमाएका प्रत्येक परिवार अब इजरायलका लागि आफ्नै परिवारसरह भएको बताए। उनले मासिकरूपमा इजरायली नागरिकले प्राप्त गर्ने सेवा र सुविधा प्रदान गर्ने र पीडामा इजरायल आजीवन साथ रहने प्रतिवद्धता जनाए।

राजदूत गोदरले भने, ‘सबै परिवारमा कि बालबच्चा छन्, कि वृद्धवृद्धा छन्, कमाउने उमेरमा छोरा गुमाउँदा उहाँको पीडा खपिनसक्नु छ। मृतकको क्षतिपूर्ति त हुनै सक्दैन। तैपनि हामीले इजरायली नागरिक सरहको सुविधा हरेक महिना दिने व्यवस्था गर्दैछौं।’
परमानन्द पाण्डे/ अन्नपूर्णबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *