सुदूरपश्चिम महोत्सवमा थारू गाउँ !

माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ। घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन्। झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो।

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको छ। थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो।

थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि लिएर परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ। घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँग रमाउन सकिन्छ। प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास प्रदर्शनीका संयोजक हेमन्त चौधरीको छ। उनले भने, ‘हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन्। त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो।’

प्रदर्शनीमा थारू सङ्ग्रहालय पनि राखिएको छ। सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने चिजहरू छन्। चिटिक्क परेको माटोको घरमा रहेको सङ्ग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकनका लागि राखिएको छ। डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा तयार पारिएको छ।

थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाउन सक्ने संयोजक चौधरीले जानकारी दिए। थारू गाउँ प्रदर्शनी स्थलमा हरेक दिन परम्परागतदेखि लिएर आधुनिक थारू नृत्य देखाइने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *