थारु संस्कृतिलाई चित्रकलामार्फत् संरक्षण गर्दै मिठु

मिठु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै छन्। उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदैछन्।

कैलालीको जानकी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मिठुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मिठुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिकरूपमा उनले काम गर्दै आएका छन्। मिठुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए।

‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट रू २५ हजार पाएको थिएँ,’ उनले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक ७० हजारदेखि एक लाखसम्म हुने गर्छ।

यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका-१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दैछन्। उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मिठुको भनाइ थियो। व्यावसायिकरूपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।




One thought on “थारु संस्कृतिलाई चित्रकलामार्फत् संरक्षण गर्दै मिठु

  1. खुशीको कुरा ।लोप हुँदै गरेको थारु संस्कृतिलाई जगेर्ना गर्ने उहाँको प्रयासलाई सलाम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *