वडाध्यक्ष दीपक चौधरीको अगुवाईमा बरघर र गुरुवाको स्वास्थ्य बीमा गरिँदै

कैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो।

टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा आवद्ध गर्न थालिएको जानकारी दिए। उनले वडाका हरेक काममा चिराकीको ठूलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बरघर, चिराकी र गुरुवालाई बीमा गरिदिन थालेको बताए। ‘वर्षौंदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठूलो कुरा हो। बिरामी पर्दा तपाईँ र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बीमामा सघाएका छौं,’ उनले भने।

यसरी सामाजिक सेवा गरिरहेका बरघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बीमा गरिएको हो। स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले दुई हजार आठ सय र सात सय बिमित स्वयंले तिरेर बीमा गरिएको छ।

स्वास्थ्य बीमामा आबद्ध भए वर्षमा रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाइन्छ। वडाले बीमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन्। अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउँछन्।

तीस वर्षभन्दा बढी समयदेखि बरघरको जिम्मेवारी सम्हालिरहेका बन्दीपुरका बडघर श्यामलाल डगौराले आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बीमा गरिदिँदा धेरै राहत हुने बताए। वडाले आफूमात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उनको भनाइ छ।

बरघर, गुरुवा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन्। पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बरघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हातेमाइकजस्ता सामग्री सहयोग गर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *