राजसंस्थाको वकालत गर्दै पूर्वसांसद गंगा थारू सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश

पूर्व सांसद एवं थारू नेतृ गंगा चौधरी सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन्। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनी मंगलबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी हुन्।

उनलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए। उनी आजै सो पार्टीको केन्द्रीय सदस्यमा समेत चयन भएकी छन्। पूर्वमन्त्री विष्ट नेतृत्वको पार्टीले संवैधानिक राजतन्त्र फिर्ता, हिन्दू राष्ट्र कायम, संघीयता खारेजसहित काग राख्दै निरन्तर आन्दोलन गर्दै आएको छ। सोही अभियानलाई समर्थन गर्दै गंगा सो पार्टीमा प्रवेश गरेकी हुन्।

थरुहट आन्दोलनको अगुवाई गर्दै उनी संविधानसभा सदस्यसमेत भएकी थिइन्। थरुहट तराई पार्टीबाट संविधानसभा सदस्य बनेकी उनी त्यतिबेला विधायन समितिको सभापति समेत बनेकी थिइन्।

थरुहट तराई पार्टीबाट विद्रोह गर्दै उनी  त्यतिबेला बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। संविधान जारी भइसकेपछि भएको प्रतिनिधिसभा निर्वाचनका बेला उनी एमाले प्रवेश गर्दै सामानुपातिक सांसद बनेकी थिइन्। निर्वाचन आयोगले दुईपटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने प्रावधान ल्याएपछि मंसिर ४ को निर्वाचनअघि एमाले छाडेकी थिइन्। दाङ क्षेत्र नं १ मा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाउने भएपछि उनी एमाले परित्याग गरी हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *