तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरी निर्माण गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ट्वान्टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने प्रतिबद्धता जनाए ।

‘तपाईंहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल ट्वान्टी- २० विश्वकपमा छनोट भएको छ । विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईंहरूले राम्रो गर्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ । यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।’

रंगशाला निर्माणबारे प्रधानमन्त्री दाहालले भने, ‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं । भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ । क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं ।’

घोषित पुरस्कार वितरणमा ढिलाइ भएकोप्रति आफूलाई पनि नराम्रोल लागेको दाहालको भनाइ थियो । प्रक्रियागत समस्याका कारण त्यस्तो भएको उनको प्रष्टिकरण थियो । ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । ट्वान्टी-२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ,’ उनले भने ।

कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताएका थिए । उनले भने, ‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं । कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौं । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *