सांसद अरुण चौधरीद्वारा थारू खेलाडीहरू सम्मानित

खेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्।

ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद खेलाडीहरूले उच्च कोटीको प्रदर्शन गर्दै आएको भन्दै उनले खेलाडीहरूको प्रशंसा गरे।

‘स्रोतसाधनका बावजुद पनि हाम्रा खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रतियोगिता खेल्दै आउनुभएको छ। यो खेलाडीले देशप्रति गरेको उच्च कोटीको योगदान हो। सांसदको नाताले मैले खेलकुद क्षेत्रको विकासका निम्ति सम्बन्धित निकायलाई सधैं घच्घच्याउने प्रतिवद्धता गर्न चाहन्छु,’ उनले भने।

कार्यक्रममा फुटबल, भलिबल, कराँते, दौडलगायत विधाका थारू खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका थिए। त्यस्तै चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई पनि सम्मान गरिएको थियो। नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई हौसला प्रदान गर्न सम्मान गरिएको सांसद चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *