कलिलै उमेरमा प्रहरीको गोलीबाट ज्यान गुमाएकी नविना थारूको शालिक अनावरण

प्रहरीको गोलीबाट मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा नविनाको शालिक अनावरण गरेका हुन्। उनको पूर्ण कदको शालिक निर्माण गरिएको हो।

२०७९ जेठ २३ गते बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा आएका नविनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो। प्रहरीले स्थानीय थारूमाथि दमन गरेको र गोली हानेर नविनाको हत्या गरेको भन्दै चौतर्फी विरोध भएको थियो।

सर्वपक्षीय छलफलबाट दुई दिनपछि जेठ २५ गते ५ बुँदे सहमति भएको थियो। जसमा पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक छानविन समिति बनाउने र गोली चलाउनेलाई कारबाही गर्ने सहमति भएको थियो। पीडित परिवारले नविनालाई सहिद घोषणा गरी शालिक बनाउने माग गर्दै आएको थियो। सोही मागअनुसार उनको शालिक अनावरण गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

घटनाको केही समयअघि बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन्। अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न प्रदर्शन गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *