नेपालको फराकिलो जितमा कुशल र दीपेन्द्रको कीर्तिमान

नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ। जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो ।

यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो। यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो। त्यस्तै क्यानडाले २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो। मंगोलियाका दावासुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

त्यसअघि चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । टि२० आई इतिहासमा पहिलो पटक ३ सय रन बनेको हो । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान २ सय ७८ रन थियो ।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए । ओडिआईमा कुशलले नै ओमानविरुद्ध ५९ बलमा शतक हानेका थिए ।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए ।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।

नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए । कुशल र रोहित दुबै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । २०१९ मा ज्ञानेन्द्र मल्लको मलेसियाविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन् । नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *