२३ वर्षीया निकिता चौधरीलाई श्रीमानले नै हत्या गरेको आरोप

सुनसरीको इनरुवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको भाइ राकेशको दावी छ।

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन्।

निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए।

उनले शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताए। निकिताकी आफन्त सर्मिला चौधरीले निकिताको शरीरभरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको बताइन्।

भगतले रातीको समयमा घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ। उनीहरूको विवाहमा निकिताका माइतीले ३५ लाख नगद , १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ।

निकिताका ११ महिनाका छोरा छन्। उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ। भगतले थप दाइजो माग गरी निकितालाई यातना दिएर हत्या गरेकाले हदैसम्मको कारबाही गर्न भाइ राकेशले माग गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *