एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, थारू नेताहरूले दिए श्रद्धाञ्जली

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए। उनको निधनप्रति थारू नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

एमालेले यसरी सम्झियो नेम्वाङलाई
वि.सं. २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका-७ मा जन्मनुभएका कमरेड सुवास नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएको छ । संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई-दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित छ । उहाँले पुनर्स्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २००९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ ।

२०५६ सालमा प्रतिनिधिसभा सदस्यको रूपमा ईलामबाट पहिलो पटक निर्वाचित भइ सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।

आदर्श स्कूल, ईलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, ईलाममा बी.ए. पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौँमा बी.एल. अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२/६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक-पटक हिरासतमा पर्नुभएको थियो ।

२०३३ साल असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो। छैटौँ महाधिवेशन (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँका योगदानहरूको पार्टी उच्च मूल्याङ्कन गर्दछ ।

२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरू गर्नुभएका उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रूपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका माननीय सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।

कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
श्रीमती कलावती नेम्वाङसँग छुट्टीमिन्न भइसकेपछि विशालनुमा नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँहरुका दुई छोरा- मिड्सो नेम्बाङ र सुहाग नेम्वाङ तथा दुई छोरीहरू डा. सुसाङनुमा नेम्वाङ र सम्याङ नेम्वाङ हुनुहुन्छ ।

सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिनुहुने सुवासचन्द्र नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा (एमाले) पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको छ । शोकको यस घडीमा सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकाकुल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *