पत्थरीको अपरेशन गराउन गएका ऐजनलाल चौधरीको किड्नी निकालेपछि मृत्यु, अस्पताल नै अवैध रहेको खुलासा

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा आइतबार मृत्यु भएको छ । पत्थरीको अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए । हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा उक्त घटना भएको हो ।

धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मृगौलामा दुईवटा र दायाँ मृगौलामा एउटा पत्थरी छ भन्दै बायाँ मृगौलामा रहेका पत्थरी झिक्न अपरेशन गरिएको थियो । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अपरेशन गरिएको थियो । ‘अपरेशन सकिएपछि डाक्टरले सुरुमा अपरेशन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौं,’ उनले भने ‘करिब एक घण्टापछि भेट्न गयौं । बुवाले पेट दुख्यो भन्नुभो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगायो । तर निको भएन । पेट त फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौं ।’

राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौं । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले । त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौं,’ चौधरीले भने ‘राति २ बजे किड्नी पनि निकाल्यो । ल ज्यान बच्यो भने ।’

फेरि आइतबार बिहान अस्पताल प्रशासनका कर्मचारीहरूले बिरामीको अवस्था क्रिटिकल छ भन्न थालेको चौधरीका परिवार बताउँछन् । ‘बिरामीलाई आईसीयूमै राखिएको थियो । हामी भेट्न गयौं । उहाँको त श्वास मात्रै बाँकी थियो,’ भतिज राजकुमार चौधरीले भने ‘दिउँसो २ बजे त डाक्टरले अब बचाउन सकिँदैन भनेर भन्न थाले ।’

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आएका मृतकका आफन्तले सोमबार दिउँसोदेखि अस्पताल क्षेत्रको सवारी यातायात बन्द गराएका थिए । बिरामीको मृत्यु भइसकेको सूचना अपरेशनमा संलग्न डाक्टर र अस्पतालले लुकाएर बिरामी जीवित रहेको भनेको, डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आक्रोशित भएका थिए ।

सोमबार साँझ भने पीडित पक्षको प्रदर्शनका बीच अस्पताल प्रशासन र मृतक पक्षबीच तीन बुँदे सहमति भएको मृतकका भतिजा राजकुमार चौधरीले बताए । उनका अनुसार एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च अस्पतालले ब्यहोर्ने, मृतकका २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनेस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।

यसैबीच, उक्त अस्पतालले हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको बुझिएको छ । अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेश गरेको तर अनुमति भने पाइसकेको छैन ।

यसका लागि केही कागजात नपुगेको निर्देशक डा. जगदीश जोशीले नै स्वीकार गरेका छन् । ‘हामीकहाँ डकुमेन्ट आएको छ, केही कागजात अपुग भएकाले अध्ययनकै प्रकृयामै छौं,’ उनले भने । अस्पतालका अध्यक्ष महेश जोशीले भने दर्ता रहेको दाबी गरेका छन् । अस्पतालले ०७९ माघ देखि नै सेवा सुरु गरेको हो ।

– अर्जुन शाह/कान्तिपुरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *