धरान घटनाले प्रधानमन्त्री चिन्तित, कसैको धर्म र भावनामाथि नकरात्मकता द्वैष नफैलाउन अपील

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेको गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका छन्।

‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक-अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ। यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन। तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्।

उनले सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उल्लेख गरेका छन्। ‘हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै `समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ। तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिने बताउँदै एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने उनको भनाइ छ। ‘त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु। विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौं। नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *