रेशम चौधरीले भने- टेकबहादुर साउँद मेरो पनि बच्चा हो, हाम्रो भावनामाथि खेल्ने प्रयास भयो

लखन चौधरी/कैलाली

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व. साउँदको सालिक अनावरण गर्दै पूर्वसांसद समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए।

उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो। उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ। मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो। तर उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ। उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए। मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस्।’

उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको बताए। उनले अगाडि थपे, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो। दुभाग्र्यपूर्ण घटना घट्यो। आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो। संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो। असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो। त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे। टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ।’

उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन्। टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको बताउँदै उनले सबै मिलेर टीकापुरलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे। २०७२ भदौ ७ गते थरुहट-थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली लागेर साउँदको मृत्यु भएको थियो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।




One thought on “रेशम चौधरीले भने- टेकबहादुर साउँद मेरो पनि बच्चा हो, हाम्रो भावनामाथि खेल्ने प्रयास भयो

  1. पाप धुने नाटक गर्दैछौ।आफु जेल मुक्त हुनको लागि गठबन्धन सरकारमा छिरेर आममाफी सिफारिस गर्न लगाईयो।आममाफिको लागि सर्वसाधारण जनतालाई १० बर्ष कारागार जीवन बिताई सकेको हुनु पर्छ,अनि रेशम लाल चौधरी जम्मा साढे पाच वर्षमा आममाफि पाउने चाहि कसरी नि सरकार???

Leave a Reply

Your email address will not be published. Required fields are marked *