प्रधानमन्त्रीले खोसे अमनलाल मोदीको मन्त्री पद

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायतका कारणले शपथ हुन सकेको थिएन।

माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको पुनले बताए। जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।

माओवादी नेताहरूले मन्त्री मोदीकै सहमतिमा उनलाई फिर्ता बोलाउने निर्ण भएको बताए पनि माओवादीका थारू नेताहरूले उनको मन्त्री पद खोसेको बताएका छन्। उनीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना समेत गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *