सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय

भागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने बताएपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार शपथ गराउने तयारी पनि गरेका थिए ।

सांसद कैलाश चौधरी त राज्यमन्त्री पदको शपथ लिने तयारीमा मंगलबार आफ्नो परम्परागत थारु पोसाकसहित टीकापुरबाट धनगढी आएका थिए । मन्त्रीमा सिफारिस भएका रामेश्वर चौधरी पनि उत्साहित थिए । तर नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री शाहलाई पत्राचार गर्दै भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी गराइन् । अध्यक्ष चौधरीको पत्रपछि मुख्यमन्त्री शाहको मन्त्रिपरिषद् विस्तारको प्रयास र नागरिक उन्मुक्तिका दुई सांसदको मन्त्री हुने धोको मंगलबार पूरा हुन सकेन ।

सुदूरपश्चिममा कांग्रेस, माआोवदी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सरकार बनेको छ । कांग्रेस नेतृत्वको सरकारमा हाल मुख्यमन्त्रीसहित कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीबाट एक मन्त्रालयको नेतृत्व छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन छ । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि लिएको थियो । मन्त्री भएको एक महिनामै पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि हाल उक्त मन्त्रालयको नेतृत्व पनि रिक्त छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *