रकमान्तरको विरोध गर्दै एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। मधेस सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तरमार्फत गरेको अनियमितताको जवाफ मुख्यमन्त्री सरोज यादवले नदिए बैठक चल्न नदिने बताए।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्। असार १ गते बजेट ल्याएपछि शनिबार २३औं दिन बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बसेको थियो।

एमालेका सांसद राजकुमार लेखीले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए। यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने उनले थारुवानलाई बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *