दैलेखमा भारत सरकारको सहयोग निर्मित चार वटा सामुदायिक विकास परियोजनाको उद्घाटन भएको छ। भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका तीन वटा विद्यालयका भवनहरू उद्‍घाटन गरिएको हो। जसमा लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन रहेका छन्।

उद्घाटन समारोहमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, महाबु गाउँपालिकाका कार्यबाहक अध्यक्ष श्रीमती मन्जु कुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो।

यी परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति दैलेखमार्फत् भएको हो। यी विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेख जिल्लामा गुणस्तरीय शिक्षाको लागि उपयुक्त वातावरण सिर्जना गर्न मद्धत गर्नेछ।

सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *