नागरिक उन्मुक्तिमा आबद्ध भएकी एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्। यद्यपि उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएको हो वा होइनबारे केही खुलाएकी छैनन्।

नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएपछि एलिजालाई महिला विभाग प्रमुखको जिम्मेवारी तोकिएको थियो। रुपन्देहीमा आयोजित भव्य कार्यक्रममा पार्टी प्रवेश गरेकी उनले नागरिक उन्मुक्ति पार्टीमा निकै सक्रिय थिइन्। उनी हरेक कार्यक्रममा सहभागी हुनुका साथै पार्टी संरक्षक रेशम चौधरीसँगै जिल्ला दौडाहामा समेत गएकी थिइन्।

आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन्। धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *