लोसपाका केन्द्रीय सदस्य एवं मोर्चाका महासचिव तुल्सी चौधरी नागरिक उन्मुक्तिमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुल्सी चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनलाई पार्टीका संरक्षक रेशम चौधरीले स्वागत गरेका थिए।

तुल्सी चौधरी निर्वाचनअघि नै नागरिक उन्मुक्तिमा प्रवेश गर्न खोजे पनि पार्टीको दाबाबका कारण पार्टी प्रवेश गरेका थिएनन्।

सप्तरीको खडक नगरपालिका ४ मा आयोजित कार्यक्रममा जसपाका महेन्द्र प्रसाद चौधरी, दिल कुमारी चौधरी, रिता शर्मा यादव, माओवादी केन्द्रका रघु कुमार सिंह थारु, कांग्रेसका दुर्गानन्द चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्तिमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रेशम चौधरीले २०८४ सालपछि नागरिक उन्मुक्ति पार्टी देशकै ठूलो पार्टी बन्ने दाबी गरे। नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनले आफू जेलमुक्त भएदेखि पार्टी प्रवेश कार्यक्रममा पुग्न भ्याइनभ्याई भएको बताए। ‘मेरो जीवन पहिचानका लागि समर्पित गरेको छु। पहिचान र अधिकारका लागि संघर्ष जारी राख्छु,’ उनले भने।

उनले विभेद् विरुद्ध र न्याय प्राप्तिको आन्दोलनमा समाहित हुन सम्पूर्ण शोषित, पीडित समुदायलाई आह्वान गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *