सङ्खुवासभा बाढीपहिरोमा कैलाली र बर्दियाका दस जना थारू बेपत्ता

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गएराति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन्।

त्यस्तैगरी सभापोखरी गाउँपालिका-३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका-४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका-७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन्। गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले तीन पक्की पुलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *