थारू संस्कृतिविद् एवं पूर्व राज्यमन्त्री महेश चौधरीको निधन

पूर्वराज्यमन्त्री एवं एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेश चौधरीको निधन भएको छ। ७२ वर्षीय चौधरीको उपचारका क्रममा बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा निधन भएको हो।

हर्निया र लिभरको समस्याबाट ग्रसित चौधरीको स्वास्थ्यमा जटिलता आएपछि बुधबार बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो। दंगीशरण गाउँपालिका-४ बैवाङ स्थायी घर भएका चौधरी हाल घोराही उपमहानगरपालिका-१७ बेलभारमा बस्दै आएका थिए।

अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर तह गरेका चौधरीले २०३५ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्राध्यापन गरेका थिए। तत्कालीन नेकपा (माले)को नीतिअनुसार प्राध्यापन छोडेर चौधरी २०४३ सालमा पूर्णकालीन राजनीतिमा लागेका थिए। उनी एमालेको तर्फबाट २०४८ मा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री भएका थिए।

संस्कृति र इतिहासको खोज अनुसन्धानमा दख्खल राख्ने चौधरीले थारु, नेपाली र अंग्रेजी भाषामा थुप्रै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन्। पछिल्लो समय उनी राजनीतिबाट निष्क्रिय भई बेलभारमा प्राङ्गारिक मल उद्योग सञ्चालन गरिरहेका थिए । चौधरीका दुई छोरा, एक छोरी र श्रीमती छन्।

एमाले दाङले चौधरीको निधनप्रति दु:ख व्यक्त गरेको छ। अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले शोक वक्तत्व जारी गर्दै पार्टीले कुशल अभिभावक गुमाएको उल्लेख गरेका छन्। चौधरीको शव श्रद्धाञ्जलीका लागि बुधबार बेलुका घोराहीस्थित एमाले पार्टी कार्यालयमा राख्ने र बिहीबार बिहान दंगिशरण गाउँपालिका-४ बैवाङस्थित बबई घाटमा अन्त्येष्टि गरिने एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *