प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ भन्दै रेशमले भने- उच्चस्तरीय आयोग गठन गरौं

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। त्यसका लागि आफूले पनि सघाउने उनले बताए। डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ। उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो। उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ।’

आफ्नो श्रीमान, छोरा र दाजुभाइको देहान्त कसरी भयो भन्ने थाहा पाउने चेष्टा गर्नैपर्ने बताउँदै उनले भने, ‘म पनि उहाँहरुलाई सघाउन चाहान्छु र सिंगो नागरिक उन्मुक्ति पार्टी पनि उहाँहरुलाई सघाउन चाहान्छ ।’

आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो । कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए। टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताउँदै उनले भने, ‘टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्छ । त्यो धरातलमा रहेका नागरिकसँग सोधिनुपर्छ । टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ, जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो । राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ ।’

तस्बिर : रोजन श्रेष्ठ/पहिलोपोस्ट




Leave a Reply

Your email address will not be published. Required fields are marked *