उपमहानगरपालिकाको कार्यपालिका सदस्य चौधरीको निधन

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपति देवी थरुनीको शुक्रबार निधन भएको छ। पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो।

जीतपुरसिमरा-१४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन्। अस्पताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिइन्। अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिइन्।

चौधरीको आग्रहपछि स्थानीयले उनलाई नजिकैको क्लिनिकमा लगेका थिए। उक्त क्लिनिकबाट तत्कालै सिमरास्थित अस्पताल ल्याउने क्रममा चौधरीको निधन भएको वडाध्यक्ष गुरुङले बताइन्।

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन्। चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन्। चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा उनि नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिइन्। वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो। चौधरीको श्रीमान्, दुई छोरा र एक छोरी छन्। ​​​​​जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलसहित जनप्रतिनिधिले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *