रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा, १५ गते छुट्लान्?

सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ। २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो।

त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए।

‘उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो।’

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो। ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालय स्रोतले रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमागि अध्ययन भइरहेको जानकारी दिएको छ। सम्भवतः शुक्रबार नै फाइल गृह मन्त्रालयमा फिर्ता गरेर प्रक्रिया अघि बढ्नेछ। फाइल अघि बढेमा गृहले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ । निर्णय गर्नुअघि सरकारले आधार र कारण खुलाई राष्ट्रपति कार्यालयमा राय पेश गर्नुपर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *