नागरिक उन्मुक्तिले सुदूरपश्चिममा माग्यो दुई मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकार विस्तारको विषयमा शनिबार उनीहरूबीच छलफल भएको हो। छलफलमा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिमका सांसदहरू पनि उपस्थित थिए।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रधानमन्त्रीसँग समसमायिक विषयमा छलफल भएको बताए। उनले सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेको र त्यसमा नागरिक उन्मुक्तिले पाउने भागबण्डाका विषयमा छलफल भएको बताए। ‘सुदूरपश्चिम सरकार विस्तारको क्रममा छ। सरकारमा हाम्रो उचित सहभागिता हुनुपर्छ भनेका छौं,’ उनले भने।

प्रवक्ता पण्डितले सुदूरपश्चिम सरकारमा पार्टीले दुई मन्त्रालय दाबी गरेको बताए। ‘सुदूरपश्चिम सरकारमा हामीले एक राज्य मन्त्री र दुई मन्त्री पाउनुपर्छ भनेका छौं। त्यसो नभए हामी सरकारमा जाँदैनौं,’ उनले भने।

उनले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरे।

त्यस्तै डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका विषयमा पनि छलफल भएको थियो। सर्वोच्च अदालतमा पटक-पटक पेसी सर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता पण्डितले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *