मुख्यमन्त्री डिल्ली चौधरीले लिए सपथ, नागरिक उन्मुक्तिबाट धर्मबहादुर बने मन्त्री

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता चौधरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्य मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री चौधरीले तीन सदस्यीय विनाविभागीय मन्त्री नियुक्त गरेका छन्। माओवादी केन्द्रका धनबहादुर मास्की,नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

चौधरीले बिहीबार ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा चौधरीले तोकेकै समयमा दाबी पेस गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११,नागरिक उन्मुक्ति पार्टीका ४,जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक सांसदको समर्थन रहेको छ ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *