नयाँ वर्षको शुभकामना दिँदै मन्त्री रञ्जिता श्रेष्ठले भनिन्- दलहरूबीच भएका सहमति कार्यान्वयन गरिनुपर्छ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जनताले मुलुकमा स्थिरता र स्थायित्व खोजेको बताएकी छन्। नयाँ वर्ष २०८० को शुभकामना दिँदै उनले आम नेपाली नागरिकले जनमुकी सरकार र उत्तरदायी जनप्रतिनिधि चाहेको बताएकी छन्।

उनले सरकार गठनको क्रममा दलहरूबीच भएका सहमति कार्यान्वयन गर्दै लोकतान्त्रिक, उत्तरदायी, जवाफदेही, पारदर्शी र सुशासनमय ढंगबाट काम गर्ने अठोट लिएकी बताइन्।

संसदमा नयाँ दल र नयाँ पुस्ताको उपस्थिति सन्तोषजनक रहेको बताउँदै उनले भनेकी छन्, ‘नीति निर्माण तहमा युवा पुस्ताको सहभागिताले जनतामा नयाँ आशा र ऊर्जा पलाएको छ। संविधानको मर्म, भावना अनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन्। जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्नेछ।’

आर्थिक मन्दीले चरम सीमा पार गरेसँगै आम नागरिकदेखि व्यवसायीहरू प्रताडित रहेको र सम्भावित विपद् जोखिम न्युनीकरण, आर्थिक संकट न्युनीकरणका लागि अधिक पूर्व तयारी गर्नु पर्ने आवश्यकता महसुस भएको बताएकी छन्।

सेवाप्रवाह चुस्तदुरुस्त बनाउन, विकास र समृद्धिको दूरदर्शी यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच बलियो समन्वय र समझदारी यस नयाँ वर्षको प्रारम्भसँगै कायम हुनेछ भन्ने अपेक्षा गरेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘देश र जनताका आम समस्याको सुनुवाइ र समाधानका निम्ति प्रतिबद्ध छु। आजकै दिनदेखि देशमा ज्वलन्त रहेका समस्या, संकट, विकृति, भ्रष्ट्रचार विरुद्ध हातेमालो गर्दै देश विकास र समृद्धिको पक्षमा लाग्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ बर्ष मनाउन समस्त नेपालीहरुमा हार्दिक अपिल गर्दछु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *