आजको संसद बैठकमा थारू सांसदहरूले के भने?

नेकपा (एमाले)की सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताएकी छन्। संसदमा बैठकमा उनले भनिन्, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्। वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन्।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् सुरु हुने बित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए। ‘पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ। प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ। समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने।

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन्। उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन्।
रास्वापाका सांसद अशोककुमार चौधरीले सुनसरीको विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सडकको मर्मत सम्भार र निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।
सांसद अस्माकुमारी चौधरीले दाङ घोराही उपमहानगरपालिकाका बस्ती वर्षायाममा बाढीको जोखिममा रहेको भन्दै ध्यानार्कषण गराइन्। उनले तटबन्ध निर्माण र बस्ती व्यवस्थापनमासमेत ध्यानार्कषण गराइन्।

नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले ठूलो सङ्ख्यामा युवा जनशक्ति बेरोजगार भएको चर्चा गरिन्। नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले कमैया प्रथाको मुक्तिको घोषणा गरेर कानुन निर्माण गरे पनि पुनःस्थापना हुन नसकेको बताए। उनले सरकारले आश्वासन मात्र बाँडेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *