थारू रेजिमेन्ट स्थापना गर्ने नेपाल र भारतका थारूहरू सम्मिलित अन्तर्राष्ट्रिय महासभाको निर्णय

नेपाल र भारतका थारूहरू सम्मलिति थारू अन्तर्राष्ट्रिय महासभाले थारू रेजिमेन्ट स्थापना गर्ने निर्णय गरेको छ। गत चैत ४ र ५ गते सम्मपन्न अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्दै संगठन मन्त्री श्रावण थारूले कूटनीतिक पहलमार्फत् थारु रेजिमेन्ट स्थापना गर्ने निर्णय भएको बताए।

सम्मेलनले नेपाल र भारतमा रहेका थारु समुदायको सांस्कृतिक, भाषिक र आर्थिक समृद्धिका लागि गोलबद्ध हुने निर्णयसमेत गरेको छ। सम्मेलनले विधान मस्यौदा, सामाजिक सांस्कृतिक एवम् जनसम्पर्क, राजनीतिक परिषद् समिति एवम् थारु अध्ययन अनुसन्धान केन्द्र बनाउने निर्णय भएको घोषणापत्रमा उल्लेख छ।

महासभालाई संस्थागत गर्न विधान आवश्यक पर्ने भएकाले विधान मस्यौदा समिति बनाइएको छ। समितिमा पूर्वमन्त्रीसमेत रहेका नवलपरासीका गोविन्द चौधरी, उत्तराखण्डका विधायक गोपाल सिंह राणा, थारू आयोगका सदस्य उमाशंकर प्रसाद चौधरी, अभियन्ता एवं नागरिक उन्मुक्तिका नेता सुरेन्द्र चौधरी, उत्तर प्रदेशका भारतका विनोद चौधरी, उत्तराखण्डकै विजयबहादुर चौधरी र बिहारका योगन्द्र काजी रहेका छन्।

त्यस्तै सांस्कृतिक एवम् जनसम्पर्क समितिमा नेपालबाट श्रवण थारु, रामकुमार चौधरी, रामकृष्ण चौधरी, प्रभा चौधरी र कोशिला कुमारी चौधरी रहेका छन्।

राजनीतिक परिषद समितिमा भारतबाट विजयबहादुर चौधरी, गोपाल सिंह राणा र दिपनारायण प्रसाद चौधरी र नेपालबाट सुरेन्द्र चौधरी, गोविन्द चौधरी, लक्ष्मण थारु र श्रवण थारु रहेका छन्। दुवै देशका थारू जातिको राजनीतिक, कूटनीतिक सम्बन्ध बलियो बनाउन राजनीतिक परिषद् बनाउने सहमति भएको श्रवण थारुको भनाइ छ।

त्यस्तै थारू जातिका विषयमा अध्ययन एवं अनुसन्धान गर्न डा. कृष्णराज सर्वहारी, चन्द्र नारायण थारु र महेश चौधरी सम्मिलित केन्द्रको स्थापना गर्ने निर्णय गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *