बसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए। यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए। सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए। कुँवर अंक तालिकामा १ नम्बरमा थिए। यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवादरूपमा भएको छ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन्। काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ। अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *