लाओसविरुद्ध नेपालको शानदार जित, अनन्त र नवयुगले गरे गोल

राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक-एक गोल गरे। अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक गोल थपे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए।

त्यसपछि खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो। त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २-० को सहज जित हासिल गर्‍यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन्। यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन्।

उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भूटानसँग खेल्नेछ । त्यसअघि लाओस र भूटानले यही चैत ११ गते खेल्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *