राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा सांसद अरुणको नाम समावेश, नागरिक उन्मुक्तिको मतभार ८९२

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो। उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो। उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र संघीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो। उनी यही आइतबार कारागार मुक्त भएका थिए। निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ।

नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ। भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा १५ मतदाता रहेको नागरिक उन्मुक्तिको ८ सय ९२ मतभार रहेको छ। शुक्रबार बालुवटार बैठकमा सहभागी भएसँगै नागरिक उन्मुक्ति पनि आठ दलमा सहभागी भएका छन्। सम्भवतः कांग्रेस उम्मेदवारलाई नागरिक उन्मुक्तिले मत हाल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *