सांसद अरुण चौधरीले राष्ट्रपतिबाट पाए माफी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई सरकारले शुक्रबार राष्ट्रपतिमार्फत् माफी दिएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ।

चौधरीले बुधबार राष्ट्रपतिलाई कैद माफी दिन पत्र लेखेका थिए भने भोलिपल्ट बुझाउनुपर्ने रकम दाखिला गरेका थिए। सरकारले बिहीबारै उनको सजाय माफीका लागि सिफारिस गरेको थियो।

अरुण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीले २०६६ भदौ ३ मा कैलालीको साबिक बलिया-८ धोबेनी खोलास्थित सडकमा लु२त २११ नम्बरको ट्र्याक्टरमा पेट्रोल छर्किएर आगजनी गरेका थिए। त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णु सुवेदीले २०७० वैशाख ९ मा तीनै जनालाई दोषी ठहर गर्दै ६/६ महिना कैद सजाय सुनाएका थिए । साथै आगजनीले ट्र्याक्टरमा पुर्‍याएको क्षतिबापत ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ धनीलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएका थिए ।

पक्राउ परेका सांसद चौधरी कैलाली कारागारमा कैद सजाय भोग्दै छन् । पक्राउ परेलगत्तै माघ २२ मा उनले दिपायल उच्च अदालतमा रीतपूर्वक म्याद तामेल नभएकाले आफ्नाविरुद्ध चलेको मुद्दाबारे सूचना र प्रतिवादको मौका नपाएको दाबी गर्दै निवेदन दिए । त्यसमा अदालतले जिल्ला अदालत कैलाली, कैलाली जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयसँग जवाफ मागिसकेको छ । त्यसपछि माघ २७ मा उनले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको अर्को निवेदन दिएका छन् । दुवै निवेदन अदालतमा विचाराधीन छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *