भारतीय विदेश सचिवको व्यस्त राजनीतिक भेटघाट

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार काठमाडौं आइपुगेलगत्तै उच्च राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्। क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, परराष्ट्रसचिव भरतराज पौड्यालसँग पनि भेटवार्ता गरे।

यससँगै भारत नयाँ सरकार गठनपछि द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन लागेको हो। उनले शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेट गरे। त्यस क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले नेपाल र भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए। राष्ट्रपतिले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभेच्छा प्रकट गरेकी थिइन्। क्वात्राले भारतीय राष्ट्रपति द्रोपति मुर्मूको सन्देश राष्ट्रपतिसमक्ष सुनाएका थिए। क्वात्राले प्रधानमन्त्री दाहालसँग द्विपक्षीय हितका विषयमा कुराकानी गरेका थिए। उनीहरूबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

क्वात्रा कांग्रेस सभापति देउवासँगको भेटका लागि धुम्बाराही पुगेका थिए। उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

‘भारतका विदेशसचिव विनय मोहन क्वात्रासँगको भेट उपलब्धिमूलक रह्यो। हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौं र जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं। हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो’, सभापति देउवाले भनेका छन्। विदेशसचिव क्वात्राले एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका हुन्।

त्यस क्रममा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमाले नेता डा. राजन भट्टराईले बताए। ओलीले दुवै देशबीच घनिष्ठ, नमुना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको आफूले पाएको उल्लेख गरेका थिए।

क्वात्राले परराष्ट्रमन्त्री डा. पौड्यालसँग सिंहदरवारमा भेट गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको मन्त्री पौड्यालले बताइन्। उनका अनुसार गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा पनि छलफल भयो। मुख्य गरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायत विषयमा छलफल भएको उनको भनाइ छ।

क्वात्रा परराष्ट्रसचिव पौड्यालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन्। उनी सोमबारै सचिवस्तरीय बैठकमा पनि सहभागी भएका थिए। विदेशसचिवको कार्यभार सम्हालेपछि यो उनको पहिलो नेपाल भ्रमण हो। भारतीय विदेशसचिव क्वात्रा चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै सोमबार काठमाडौं आइपुगेका हुन्। उनी नेतृत्वको टोलीमा विदेश मन्त्रालयका सहसचिव एवं नेपाल डेस्क प्रमुख (नर्थ) अनुराग श्रीवास्तव, सोही डेस्कमा कार्यरत उपसचिव अश्विन भास्करन र सचिवालयमा रहेका रोहित मिश्र सहभागी छन्।

क्वात्रा नेपालका लागि पूर्वभारतीय राजदूतसमेत हुन्। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिवस्तरीय बैठकमा समीक्षा

नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्दै परराष्ट्रसचिवस्तरीय बैठक सकिएको छ। काठमाडौंमा सोमबार बसेको बैठकमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनामा भएको प्रगतिबारे दुवै पक्षले समीक्षा गरेका थिए। परराष्ट्रसचिव भरतराज पौड्यालले मलको आपूर्ति, खाद्यान्न निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्न भारतीय पक्षसँग आग्रह गरेका थिए।

पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै बोलाउने विषयमा पनि छलफल भएको थियो। दुवै पक्षले विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन रूपमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र एलओसी–आईभीअन्तर्गत प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि दुई पक्षबीच छलफल भएको थियो। परराष्ट्रसचिव पौड्यालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनजिकको सीमा उडान सञ्चालनका लागि भारतीय क्षेत्रबाट हवाई रुटको अनुमति दिन भारतीय पक्षसँग आग्रह गरेका थिए।

त्यस्तै नेपाल भारत सीमा विवादका विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका सीमानाकाको काम पूरा गर्ने सहमति जनाएका थिए। त्यस्तै उनीहरूले दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन्। परराष्ट्र सचिव पौड्यालले नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव र उनको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *