सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने कुनै निर्णय भएको छैन : अध्यक्ष रञ्जिता

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेको र नागरिक उन्मुक्तिको पनि सहमति रहेको भन्ने तथ्य झुठो रहेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

उनले पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसहित टीकापुर राजबन्दीहरूको रिहाइ नभएसम्म अडानमा कायमै रहने बताइन्। ‘हाम्रै माग मुद्दा सबैलाई अवगत छ। हाम्रा नेता रेशम चौधरीको रिहाइ नभएसम्म हामी न सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन्छौं, न कुनै सरकारमा सहभागी नै बन्छौं,’ उनले भनिन्।

सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको भन्दै विश्वासको मत दिन रेशम तयारलगायतका खबरहरूमा सत्यता नरहेको उनको भनाइ छ। ‘टीकापुर घटनासम्बन्धी मुद्दाको सुनुवाई अगाडि बढेको छ। यसमा हामी खुसी छौं। किनकि पटक-पटक पेसी सारिएको थियो। सुनुवाई सुरु भयो भन्दैमा हामी विश्वासको मत दिन तयार भयौं भन्ने तर्क सही होइन। उहाँको रिहाइ हाम्रो प्राथमिकता हो,’ उनले भनिन्।

रेशम चौधरीसहित टीकपुर घटनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको छ। प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी झन् सशंकित भएको छ। नागरिक उन्मुक्ति सशंकित भएपछि मुख्यमन्त्री रावल दोस्रोपटक काठमाडौं आएर शीर्ष नेताहरूसँग विश्वासको मत दिलाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए। मुख्यमन्त्री रावलले माघ २६ भित्र विश्वासको मत लिइसक्नुपर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *