सर्वोच्चमा थारू आरक्षणसम्बन्धी ४० वटा मुद्दामा बहस हुँदै

थारू आरक्षणको माग गर्दै दायर भएका ४० वटा मुद्दाको बहस सर्वोच्च अदालतमा सुरु भएको छ। उक्त मुद्दाहरूको बहस सर्वोच्चका न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको बेन्चमा सुरु भएको हो।

थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले दायर भएका ५० मध्ये ४० वटाको बहस सुरु भएको बताए। ‘हामीले दायर गरेका ४० वटा मुद्दाको बहस सुरु भएको छ। अन्तरिम आदेश आउने कुरामा ढुक्क छौं,’ उनले भने।

संविधानले दिएको अधिकारबमोजिम लोक सेवा आयोगलगायत सरकारी निकायहरूले विज्ञापन आह्वान गर्दा थारू कोटा समावेश नगरेको भन्दै थाकसले उक्त मुद्दा दायर गरेको हो।

थाकसले लोक सेवा आयोग, प्रदेश लोकसेवा, सुरक्षा निकाय र विभिन्न सरकारी संस्थानहरूविरुद्ध मुद्दा दायर गरेको छ। थाकसले मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित निकाय र थारू आयोगलाई समेत विपक्षा बनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *