‘सरकारमा सहभागी नहुने’ नागरिक उन्मुक्तिको पुरानै अडान

गरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरू प्रतिबद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन । तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौँ । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौँ । र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ । हाम्रा मागहरू टिकापुरका राजबन्दीहरूलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ । र, हामीले पनि यही कुरामा अडान लिएका छौँ । टिकापुरका निर्दोष थारुहरूलाई रिहाइ गर्नुस् । हामी सरकारमा जान्छौँ भनिरहेका छौँ । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौँ भन्ने हाम्रो कुरा हो । त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गर्छौँ । आफूहरूको माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *