रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री प्रचण्ड र ओलीको फरक-फरक अभिव्यक्ति

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सत्ता सझेदार दलहरू यतिबेका शक्ति केन्द्र धाइरहेका छन्। दलबलसहित केन्द्रीय राजधानी आइपुगेका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सत्ता साझेदार दलका नेताहरू सुदूरपश्चिम प्रदेशको सरकार टिकाउन बालकोटदेखि बालुवाटारसम्म पुगेका छन्।

दुई दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका मुख्यमन्त्री रावलको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका थिए।

रेशम चौधरीको रिहाइ प्रमुख मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टी निर्णायक बनेपछि सुदूरपश्चिम सरकार सञ्चालमा समस्या आएको भन्दै उनीहरू काठमाडौं आएका हुन्। मुख्यमन्त्री रावल आफैंले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरीको रिहाइका लागि आग्रह गरेका थिए। सोमबार दलबलसहित बालुवाटारमा पुगेका मुख्यमन्त्री रावलले टीकापुर घटनामा रेशम चौधरीको कुनै संलग्नता नरहेको भन्दै रिहाइ गर्न आग्रह गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले मुख्यमन्त्रीको आग्रहअनुसार आफूहरू काठमाडौं आएको बताए। उनले आफूहरूको माग मुद्दाका विषयमा मुख्यमन्त्री रावलले नै नेतृत्व लिएको बताए।

‘हामी सुदूरपश्चिममा सत्ता साझेदार दल हौं। तर हाम्रा माग पूरा नभएसम्म हामीले विश्वासको मत नदिने भनिसकेका छौं। सोही कारण मुख्यमन्त्रीजीको नेतृत्वमा हामी काठमाडौं आएका हौं। भेटघाटमा उहाँ(मुख्यमन्त्री)ले नै हाम्रा माग मुद्दाका विषयमा उठान गरिदिरहनुभएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीको रिहाइका लागि सरकार सकारात्मक रहेको बताए। उनले त्यसका लागि कानुनविद्हरूसँग छलफल भइरहेको बताए। ‘रेशम चौधरीको रिहाइका लागि हामी सकारात्मक छौं। छिटोभन्दा छिटो कसरी रिहाइ गर्न सकिन्छ भनेर कानुनविद्हरूसँग छलफल गरिरहेका छौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता पाण्डेले भने।

नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले पार्टीको अडान विपरित आफूहरू जान नसक्ने दोहोर्‍याएका थिए। ‘हामी त्यही (रेशमको रिहाइ) एजेण्डा लिएर जनतासामु गएका थियौं। रिहाइ नभएसम्म सुदूरपश्चिममा हामी केही गर्न सक्दैनौं,’ नागरिक उन्मुक्तिका सांसदहरूले भनेका थिए।

मुख्यमन्त्री रावलले भने प्रधानमन्त्रीलाई बधाइ दिन बालुवाटार पुगेको बताए। सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा छलफल भएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीजीलाई बधाइ दिन गएका हौं। समग्ररूपमा भन्ने हो भने सुदूरपश्चिम प्रदेशको विकास र प्रदेशलाई कसरी समृद्धिको दिशातिर लैजाने भन्ने विषयमा हाम्रो कुराकानी भएको हो,’ उनले भने।

उनले रेशम चौधरीको विषयमा बोल्न नचाहे पनि सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो दायित्व रहेको बताए। ‘जनताको म्यान्डेड भनेको समाजमा हार्मोनी र प्रदेशको विकास नै हो। त्यसका लागि सबै दलहरूलाई एकीकृत गर्ने दायित्व मेरो हो। म त्यही अभियानमा छु,’ उनले थपे।

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ। उनले आफूसँग अझै पर्याप्त समय रहेको भन्दै त्यस विषयमा अहिल्यै तयारी नगरेको बताए। ‘विश्वासको मत लिने समय अझै छ। समयभित्र पक्कै विश्वासको मत लिन्छु,’ उनले भने।

त्यस्तै एमाले अध्यक्ष ओलीले रेशम चौधरीको रिहाइबारे विश्वस्त हुन आग्रह गरेका छन्। बालकोटा पुगेका नागरिक उन्मुक्तिका सांसदहरूलाई उनले कानुनी प्रक्रियाअनुसार छिट्टै रिहाइ हुने बताएका थिए। ‘तपाईँहरू ढुक्क भएर जानुस्। विश्वस्त भएर जानुस्। रेशम चौधरी १५ दिनभित्र पनि रिहाइ हुनसक्छ। एक महिना वा तीन महिना पनि लाग्न सक्छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता पाण्डेले भने।

यसअघि ओलीले रेशम चौधरीलाई माघभित्रै रिहाइ गरेर थारूलाई उपहार दिने वाचा गरेका थिए। २७ पुसमा टेलिफोन वार्ता गरेका ओलीले रेशमलाई माघभित्रै रिहाइ गर्ने आश्वासन दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *