सुर्खेतका थारूहरूले मनाए माघ महोत्सव

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले यस पटक यस पर्वको महत्व बारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता र पौषको अन्तिम दिन गाइने ढुमरु गीतको रात्री माघ सांगितिक प्रस्तुतिसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले बताए । उनले माघ थारुहरुको विशेष पर्व भएकोले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा मात्र बसोबास रहेको थारुहरुलाई स्थानीय तहको सरकारले थारु समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरुलाई दुई दिनसम्म बिदा दिनुपर्ने माग पनि गरे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष थारुहरुलाई दुई दिनसम्म सार्वजनिक बिदा दिइरहदा सुर्खेती थारुहरु अन्यायमा परेको गुनासो गरे ।

पौष २९ गते गरिएको प्रशिक्षण कार्यक्रममा माघी पर्वको महत्वको बारेमा कार्यपत्र थारु संस्कृतिविद एवम् साहित्यकार मानबहादुर चौधरी पन्नाले प्रस्तुत गरेका थिए । कार्यपत्रमा थारुहरुको महान पर्व माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषय उठान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सुर्खेत वीरन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेपाल विविधतामा एकता भएको देश हो । थारु समुदाय नेपालको मात्र होइन सुर्खेत उपत्यकाको पनि मूल आदिवासी हुन् । थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । यस्तो रचनात्मक कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत गर्दै जानुपर्ने बताइन् । संस्कृति देशको पहिचान र चिनारी भएकोले थारु समुदायका लागि नगरपालिकाबाट हुने सबै किमिसको सहयोग हुने कुरा व्यक्त गरिन् ।

कार्यक्रमका विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाले थारु समुदायको कला संस्कृति संरक्षणका लागि सबै नगरपालिकाले आगामी दिनमा थारुहरुको मौलिक संस्कृति माघ पर्वका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिवद्धता जनाए । कला संस्कृतिमा धनी रहेको थारु समुदायको पहिचान धरोहर माघी पर्व पनि हो । यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गरिने जिकिर गरे ।

कार्यक्रममा थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारु, थाकसका जिल्ला सभापति बेचुलाल चौधरी, थारु वुद्धिजीवि लाल बहादुर चौधरी, मानबिर थारु, अमर चौधरी, शेर बहादुर थारु लगायतका वक्ताहरुले माघीको शुभकामना व्यक्त गर्दै थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *